काठमाडौं। दोलखाको बिगु गाउँपालिका–४ को झोरुङ खोलामा पुल निर्माणका लागि राखिएको संरचना बाढीले भत्काएको छ । पुल निर्माणका लागि खोलामा राखिएको ग्याबिन बाढीले बगाउँदा पुल संरचना भाँचिएको हो।
ग्याबियन जाली भासिएर लगाएका टेकाले ठाउँ छोडेपछि पुल भाँचिएको गाउँपालिकाले जनाएको छ। पुल ढलानका लागि डन्डी बाँध्ने काम भइरहेको थियो। विज्ञहरूको सरसल्लाह लिएर मात्र पुल निर्माण गर्न आग्रह गरिए पनि सो हुनसकेको थिएन। सिँगटी हाइड्रो पावरको ८० प्रतिशत र पालिकाको २० प्रतिशत लगानी साझेदारीमा यो पुल निर्माण सुरु गरिएको थियो।
पुल निर्माणको काम त्रिवेणी शेर्पा लाहा जेभीले दुई करोड १६ लाख रुपैयाँमा जिम्मा लिएको थियो। चालू आर्थिक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि कोरोना भाइरसको जोखिम, निर्माण व्यवसायीको हड्ताललगायतले निर्माण ढिलाइ भएको बताइएको छ।
म्याद थपको प्रक्रिया अघि बढिरहेको जनाइएको छ । वडा नम्बर ५, ६, ७ र ८ लाई जोड्ने यो पुलको लम्बाइ २५ मिटर रहेको छ।