काठमाडौं। सप्तकोशीको पानी धरानमा ल्याउन डिपिआरको तयारी गर्न धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई र विशेषज्ञसहितको टोलीले सप्तकोशीको स्थलगत अध्ययन गरेको छ।
प्रमुख राईले चुनावको बेलामा आफ्नो प्रमुख एजेण्डा नै सप्तकोशीको पानी ल्याएर धरानका जनतालाई खुवाउने बताएका थिए। सो एजेण्डा कार्यान्वयनको लागि आज सङ्घीय सरकार अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभाग, भारतीय र नेपाली परामर्शदाता, विशेषज्ञसहितको टोलीले सप्तकोशीको स्थलगत अध्ययन गरेको हो।
बर्खाको समयमो पानीको अभाव नभए पनि हिउँदको समयमा भने धेरै नै पानीको अभाव हुने गरेको छ। हिउँदको समयमा धरान वरपर भएका पानीका मुहानहरु सुक्ने गर्दछन् र बढ्दो जनसङ्ख्याको कारणले गर्दा पनि कोशीबाट पानी लगेर मात्र पानीको समस्याको स्थायी रुपमा समाधान हुने प्रमुख राई बताए।
विभागका आयोजना प्रमुख बालमुकुन्द श्रेष्ठले डिपिआर तयार गर्न १२ महिना लाग्ने बताए। डिपिआर तयार भएपछि सबैबाट सकारात्मक प्रतिक्रिया र आवश्यक जग्गा उपलब्ध भएमा तत्काल योजना कार्यान्वयन गरिने उहांले जानकारी दिए।
उनका अनुसार हाल १२ वटा स्थानीय तहमा डिपिआर भइरहेको र पहिलो चरणमा ५ वटा स्थानीय तह छनोट गर्नुपर्ने बताए। धरानको राजनीतिक नेतृत्व, नगरबासी सबैको पहल भएमा पाँचवटा सहरमा धरान छनोट हुने उहाँले बताए। विशेषज्ञ एवं सिनियर इञ्जिनियर डा. चेतबहादुर परियारले डिपिआर तयार भएपछि स्रोत (बजेट) जुटेमा ३ वर्षभित्र पानी धरान पुर्याउन सकिने बताए। गोरखापत्रबाट