महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत आवागमन गर्न वनबासा पुलमा रोक लगाइएको छ ।
उक्त नदीमा पानिको बहाव बढेर दुई लाख ४५ हजार क्युसेक नाघेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले बताए । पानिको बहाव बढेपछि भारतिय पक्षले ठुला र मालबाहक सवारी साधन संन्चालनमा रोक लगाएको छ ।
उक्त नदीमा पानीको बहाव बढेपछि त्यस वनबासा पुलमा पैदल र मोटरसाइकल बाहेक ठुला सवारी साधन चलेका छैनन् । प्रहरी नायब निरीक्षक गुरुङका अनुसार अहिले पानि घट्दो क्रममा भएपनि पुल बन्द हुँदा नेपाल–भारत आवातजावत गर्ने यात्रुहरु प्रभावित बनेका छन् । कोरोनाको जोखिम भइरहेको अवस्थामा पनि यहाँबाट मजदुरीको लागी सयौं नेपाली भारत जाने गरेका छन् ।
उक्त नदीमा पटक पटक बाढी आउदा निर्माणाधीन चार लेनको पुल संरचनामा क्षति पुगेको थियो । पहाडी जिल्ला दार्चुला र बैतडीमा अत्याधिक वर्षा हुँदा र भारतले धौलीगङ्गाको बाँध खोल्दा उक्त नदीमा पानिको बहाव बढ्ने गरेको छ ।
आइतबार रातिदेखि लगातार भएको अत्याधिक वर्षाका कारण दार्चुलामा जनधनको क्षति भएको छ भने पहाडी जिल्लामा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।