कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका ९ घरकटुवा खोलामा मल्टीट्रष्ट पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। ८३ लाख रुपैयाँको लागतमा पुल निर्माण कार्य भइरहेको हो।
उक्त पुल निर्माणकार्य उपभोक्ता समिति मार्फत भैरहेको छ। नौखरी र सिसैया गाउँ जोड्नका लागि घरकटुवा खोलामा पुल निर्माण भैरहको नगरपालिकाले जनाएको छ।
पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको र दुई साता भित्रै पुल सञ्चालनमा आउने बताइएको छ। निर्माण भैरहेको पुलको लम्बाइ ९६ मिटर रहेको छ। निर्माण भैरहेको पुल लम्बाइका हिसावले जिल्लामै पहिलो भएको छ।
पुल निर्माणका लागि १५ महिनाको समय सीमा निर्धारण गरिएको भएपनि केही हप्तामै कार्य सम्पन्न गरिने पुल निर्माण उपभोक्ता समितिले जनाएको छ।
खोलामा पुल नहुँदा यस क्षेत्रका बासिन्दाले वर्षातमा बाढी आएको खोला जोखिम मोलेर तर्नुपर्ने बाध्यता थियो। पुल निर्माण भएपछि सहजरुपमा आवतजावत गर्न सकिने स्थानीय बासिन्दा बताउँछन्। पुल निर्माण भएपछि पैदल यात्रुसँगै दुई पाङ्ग्रे सवारी साधन समेत सञ्चालन गर्न सकिने छ। पुल निर्माण भएपछि स्थानीय पनि खुसि भएका छन्।