काठमाडौं। बुटवल–नारायणगढ सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ। बाढीले सडकको डाइभसएन बगाउँदा दुई दिन देखि अवरुद्ध सडक सञ्चालनमा आएको हो।
पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि सडक पुनः यातायात सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ।
रातभरि डाइभर्सन निर्माणको काम गरिएको बताइएको छ। बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ।
मङ्गलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो।
डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरु गरेका छन्।