काठमाडौं। पहिरोले क्षतिग्रस्त नाम्खा गाउँपालिका–५, तुम्कोटगाउँ फुइसिङ खानेपानीको पाइपलाइन पुनर्निर्माण भएको छ। गत वर्षको पहिरोले क्षति पुगेको सो खानेपानी योजना पुनर्निर्माण भएको हो।
सो खानेपानी आयोजनालाई पहिरोले क्षति पुर्याएपछि स्थानीयले एक घण्टा टाढाको खोलामा धाउनुपर्ने अवस्था थियो। अहिले पुनःनिर्माण भएपछि घरघरमा खानेपानी आएको स्थानीयले बताए।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा सो खानेपानी योजना पुनर्निर्माण गरिएको बताइएको छ। ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना जिल्ला सल्लाहकार वीरेन्द्र थापाका अनुसार यस योजनाबाट तुम्कोट गाउँका २६ घरधुरी लाभान्वित भएका छन्। सो परियोजना सम्पन्न गर्न स्थानीयवासीको श्रमदानसहित २६ लाख रुपियाँ खर्च भएको जनाइएको छ। सो परियोजनाबाट छ किलोमिटर टाढाबाट पाइपलाइन बिच्छ्याउनुका साथै आठ हजार लिटर क्षमताको पानी सङ्कलन ट्याङ्की निर्माण गरिएको छ।