काठमाडौं। पकुवा खोलामा दुई खानेपानी ट्याङ्की निर्माण गरेको छ। धरान उपमहानगरपालिकाले खानेपानीको समस्यालाई अल्पकालीन रुपमा समाधान गर्न पकुवा खोलामा खानेपानीको दुईवटा ट्याङ्की निर्माण गरेको हो।
नगर प्रमुख हर्कराज राईले करिब दुई हप्तादेखि खानेपानीका लागि धरानका जनताको साथ र सहयोगमा श्रमदान गरी ट्याङ्की निर्माण गरेका हुन्। धरानवासीको मुख्य समस्या खानेपानीको समाधान गर्न अल्पकालीन व्यवस्थाको लागि वर्षाको समयमा आउने पकुवा खोलाको पानी ल्याउन ट्याङ्की तयार भएपछि पानीको लागि पाइप पनि धरानबासीको साथ र सहयोगमा आफैं तयार गरेका हुन्।
अबको करिब एक हप्ताभित्रमा त्यहा“को खानेपानी धरानबासीलाई वितरण गर्ने नगरपालिकाले जनाएको छ। खानेपानीको पाइपसँगै धराने जनताको साथमा खोला वरपरको डांडामा बाँस, रुखबिरुवा र फलफूलको करिब एक हजार जति बिरुवा वृक्षरोपण पनि गरिएको बताइएको छ।
पकुवा खोलाबाट करिब पाँच लाख लिटर हाराहारीको पानी धरानमा ल्याउन सकिने र त्यसका लागि मुहान क्षेत्रमा इन्टेक बनाउने र पाइपमार्फत् धरानमा वितरण गर्न सकिन जानकारी नगर प्रमुख राईले दिए। यसरी पानि ल्याउँदा नगरपालिकाको लागत नरहेको र लागेको लागत धरानबासी जनताको सहयोगमा भएको नगर प्रमुख राईको भनाइ छ।