काभ्रेपलाञ्चोक। जिल्लाको चौँरीदेउराली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत पालिकालाई एम्बुलेन्स उपहार स्वरुप एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।
एम्बुलेन्स गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंलाई हस्तान्तरण गरिएको हो । स्थानीयको स्वास्थ्यलाई ध्यानमा राख्दै एम्बुलेन्सको लागि निवर्तमान अध्यक्ष दिननाथ गौतम र वर्तमान अध्यक्ष चौंलागाईंले पहल गरेको पालिकाले जनाएको छ।
जिल्लाको विकट क्षेत्र भनेर चिनिने कोशीपारीको चौँरीदेउराली गाउँपालिकाका जनतालाई एम्बुलेन्सको अपुग भएपछि निवर्तमान अध्यक्ष गौतम र वर्तमान अध्यक्ष चौंलागाईंले पहल गरेका थिए।
‘गाउँपालिकामा भएको एम्बुलेन्सले मात्र जनताको सेवा गर्न निक्कै कठिन थियो । भौगोलिक विकटताले गर्दा बिरामी जनतालाई सेवा दिन गाह्रो थियो ।’ अध्यक्ष चौंलागाईंले भने, ‘अब नयाँ एम्बुलेन्स पाएपछि ठूलै राहत मिलेको छ । एम्बुलेन्सको अभावकै कारण अब जनताले स्वास्थ्य उपचारबाट बञ्चिन हुनुपर्दैन ।’