काठमाडौं। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोबामा घरघरमा खानेपानीका धारा पुगेपछि स्थानीयबासीलाई सहज भएको छ। वर्षौंदेखि सफा र स्वच्छ खानेपानीबाट वञ्चित भएका दोबावासीका घरघरमा धारा जडान भई पानी आउन थालेपछि दैनिकी सहज बनेको हो।
खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीबाट चार वर्ष अगाडि दोबा खानेपानी योजना सुरु गरेको थियो । गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको चार करोड ८९ लाख ६९ हजार ४ सय ६९ रुपैयाँ लागतमा योजना सुरु गरिएको कार्यालयले बताएको छ। योजनामा स्थानीयबासीले २० प्रतिशत श्रमदान जुटाएका छन्।
दोबाका सबै घरधुरीमा एक घर एक धारा खानेपानी पु¥याउने लक्ष्यका साथ चारवटा बस्तीमा एकैसाथ चारवटा स्किममा योजना सञ्चालन गरिएको छ। योजनामा ५० हजार देखि ७० हजार लिटर क्षमताका तीनवटा ट्यांकी र २० देखि ३० हजार लिटर क्षमताका तीनवटा गरी ६ वटा ट्यांकी निर्माण भएका छन्।
दोबाको मुख्य गाउँमा गतवर्ष दुई सय एक घरधुरीमा धारा जडान गरी पानी सञ्चालन गरिसकिएको छ। चालू आर्थिक वर्षमा मरकाका १ सय ६७ घरधुरीमा पानी खसालिएको छ। यसैगरी सुनारीको बस्तीका ४१ र बगरका ३४ घरधुरीमा खानेपानीका धारा जडान भइसकेको र पानी सञ्चालन गर्न बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ।