काठमाडौं। सहरी विकास तथा भवन कार्यालय पर्साका सब–इञ्जिनियर रुपेशकुमार दुवे घुससहित पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका– १० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा दुवेलाई प्रहरीले एक लाख ७० हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो।
प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई मंगलबार पक्राउ गरेको हो। सव–डिभिजन वन कार्यालय वसन्तपुर र सव–डिभिजन वन कार्यालय मनवामा १७ लाख रूपैयाँको लागतमा निर्माण भएको तीन–तीन कोठे भवनको मूल्यांकन गरी दिने बहानामा ठेकदारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिए।
पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ।
मूल्यांकनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ।