काठमाडौं। नेपाली सेनाले सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको संखुवासभा जिल्लाको खाँदबारी किमाथाङका (च्याम्ताङ–घोङगप्पा) सडक आयोजना समयमा निर्माण सम्पन्न गर्ने जनाएको छ।
उत्तरदक्षिण करिडोर अर्थात् विराटनगरको रानीदेखि किमाथाङका जोड्ने सडकको कुल लम्बाइ ३९० किलोमिटर रहेको सडकको काम यतिखेर सेनाले धमाधम निर्माण गरिरहेको छ।
आयोजना प्रमुख सेनानी पंकज पाण्डेले अहिले काम तीव्र रूपमा निर्माण भइरहेको जानकारी दिँदै लक्षित समयमै काम सकाउने जानकारी दिए। उनले भने, ‘६५ मिटरको पहाड काटेर ट्रयाक खोल्न सफल भएरपछि अरू काम अघि बढेको छ, लक्षित समय सीमाभित्रै काम सक्नेमा सकारात्मक छौँ।’
आयोजनाका साइट इन्जिनियर सहसेनानी रमेश आचार्यले कठिन धरातलीय भएकाले काम गर्न भने कठिन रहेको बताए। ‘निर्माण गरिसकेपछि पनि फेरि भत्किँदा चुनौती थपिएको छ’, उनले भने, ‘तैपनि समयमै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्ध छौँ।’ उनका अनुसार हालसम्म ५ सय मिटरको सडक स्तरोन्नति भइसकेको छ।
२०७५ सालको मन्त्रिपरिषद् बैठकले उक्त आयोजना ट्रयाक निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिएको थियो। जिम्मेवारी पूरा गर्न २०७७ साल माघ २४ गते गाउँपालिका(२ स्थित च्याम्ताङ र चुमसुरमा सेना तैनाथ भई सडक निर्माण कार्य भइरहेको सेनाले जानकारी दिएको छ।