काठमाडौं। पाल्पा जिल्लामा दुई दशकपछि पुल निर्माण भएको छ। जिल्लाको पूर्वी भेगमा रहेको दुई पालिका निस्दी र पूर्वखोला जोड्ने रेचेघाटमा पुल निर्माण भएको हो।
दुई पालिका जोड्ने पुल बनेपछि दुई दशक देखिको सपना पुरा भएको भन्दै स्थानीय खुसी भएका छन्। निस्दी गाउँपालिकाको अर्चले र पूर्वखोला गाउँपालिकाको रिङ्नेरह जोड्ने ‘रेचेघाट पुल’को निर्माण कार्य भएपछि उक्त स्थानका बासिन्दा हिउँद र वर्षाको समयमा निस्दी खोलाको जोखिम मोलेर यात्रा गर्न नपर्ने भएको छ। लुम्बिनी प्रदेश सरकारको लगानीमा ‘रेचेघाट’मा मोटरेबल पुल निर्माण भएपछि आफूहरू जुनसुकै एक स्थानबाट अर्को स्थानमा जान आउन सहज भएको स्थानीयले बताए।
पुल बनेपछि निस्दीको अर्चले, झिरुबास, गल्धा र पूर्वखोलाका रिङ्नेरह, सिलुवाका बासिन्दालाई आवतजावत सहज भएको छ। पुलले जिल्ला सदरमुकाम तानसेन, रामपुर, बुटवलसम्मको यात्रा सुरक्षित बनेको हो।
वि.स. २०७७ असार ३० गते डेढ वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने जय नेपाल कम्पनी विवेक कुमार निर्माण सेवा प्रा. लि. स्याङ्जासँग सम्झौता भएको थियो। पुल निर्माणपछि निर्माण व्यवसायीले भ्याटसहित तीन करोड ८९ लाख छ हजार रुपियाँ पाउने सम्झौतामा उल्लेख थियो। डेढ वर्षभित्र पुल निर्माणको काम सक्ने सम्झौता भए पनि विभिन्न कारणले छ महिना ढिला गरी पुल निर्माणको काम सम्पन्न भएको सडक पूर्वाधार कार्यालय पाल्पाले जनाएको छ।
कार्यालयका अनुसार रेचेघाट पुल दुई स्पानका ४४ मिटर लामो बनेको छ। पुल बनेपछि दुई पालिकाका यात्रुलाई हिउँद र वर्षाको समयमा आवतजावत गर्न सहज भएको छ।