म्याग्दी। हिमाली जिल्ला म्याग्दीको धौलागिरी गाउँपालिका ६ मा पर्ने दुर्गम मराङको बुल गाउँ पहिलोपटक सडक सञ्जालले जोडिएको छ। भौगोलिक रूपमा अत्यन्त विकट बुलसम्म सडक सञ्जाल पुगेसँगै मराङका सबै बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ।
हालैमात्र मराङको राम्चे–जेवाङ हुँदै बुल गाउँसम्म सडक जोडिएको छ। गाउँमा सडक पुगेपछि अप्ठ्यारो पैदलमार्गको प्रयोग गरी छिमेकी गाउँसम्म आउनुपर्ने बाध्यता हटेको बताइएको छ।
सडक पुगेपछि वर्षौँदेखि भीर पहरामा झुण्डिएर यात्रा गर्न बाध्य बुलका बासिन्दाको जनजीवन सहज हुनुका साथै गाउँमा उत्पादन भएका कृषि सामग्री बजारसम्म पुर्याउन सजिलो भएको बताइएको छ।
गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीयको जीवनस्तर उकासिने भएको छ। सडक सञ्जालले करिब ७० घरधुरी लाभान्वित भएका छन्। सडक विस्तारमा गतबर्ष संसद् विकास कोषबाट १७ लाख र गाउँपालिकाबाट १० लाख बजेट विनियोजन गरिएको बताइएको छ।