सङ्खुवासभा। जिल्लाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु र ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।
मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेको प्रहरी निरीक्षक खनालले बताए।
मलामी बोकेर फर्किंदै गरेको ट्र्याक्टर दुम्कटा नजिकै दुर्घटनामा परको हो । घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको उद्धारमा प्रहरी निरीक्षक सरोज खनालको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्र्याक्टरमा ४४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।