काठमाडौं। नागरिकता विधेयकबारे गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ। नेपाल सरकारले संघीय संसदमा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री खाणले आज दाहाल निवास खुमलटारमा छलफल भएको जानकारी दिए ।
भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको र छलफल सकारात्मक भएको उनले बताए। सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।
सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको हो । पेस भएको विधेयकमा सहमति जुटाउनका लागि गृहमन्त्री खाणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए।
हिजो मात्रै गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग पनि भेटवार्ता गरेका थिए। सरकारले संसदमा प्रस्तुत गर्ने नयाँ विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।