काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामकरण पहिचानको आधारमा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ।
निर्माण व्यवसायी समेत रहेका महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विज्ञप्ति जारी गर्दै आदिवासी जनजातिको पहिचान विपरीत प्रदेश नं। १ को नामकरण भए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
विज्ञप्तिमा भनिएको छ– ‘आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्ता गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी आदिवासीय पहिचान विपरीत प्रदेश नं. १ को नामकरण गर्ने दुष्प्रयास भएमा त्यसविरुद्ध नेपाल आदिवासी जनजाति महासंघले सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिन्छौँ ।’
ऐतिहासिक थाकथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी नामकरण हुनुपर्नेमा त्यसविपरीत विभिन्न षडयन्त्र भइरहेको भन्दै महासंघले विज्ञप्तिमार्फत भर्त्सना गरेको छ । प्रदेशको नामकरण पहिचानको आधारमा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको महासंघले पहिचानका आधारमा नामकरणका लागि सरोकारवाला सबै पक्षसँग अपिलसमेत गरेको छ ।
