काठमाडौं। संघीय सरकारले बैतडीका ५ सडकलाई प्राथमिकतामा राखेको छ। आर्थिक वर्षमा काम हुने गरी सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत ५ सडकका लागि बजेट विनियोजन गरेको हो।
जिल्लाको पाटन–कैलपाल–देवल सडकका लागि ५० लाख, धामीगाउँ–बाइम–मनकुडा –पुर्चौंडी सडकका लागि ५० लाख, देउझाडी–नगराउँ–धामीगाउँ–डिलाशैनी सडकका लागि ५० लाख, सकार–बयलचौर–पाटन सडकका लागि ५० लाख र सतबाँझ –श्रीभावर सडकका लागि १ करोड बजेट विनियोजन भएको छ।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् यी सडकहरू निर्माण हुने बताइएको छ।
यसअघि संघीय सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत बैतडीका लागि पनि बजेट विनियोजन भएको थियो। पाटन नगरपालिकाका लागि ४९ करोड ३६ लाख बजेट विनियोजन भएको छ। यस्तै दशरथचन्द नगरपालिकाका लागि ४७ करोड २९ लाख, पुर्चौंडी नगरपालिकाका लागि ४८ करोड ४९ लाख र मेलौली नगरपालिकाका लागि ३८ करोड १५ लाख बजेट विनियोजन भएको छ।
यस्तै गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका लागि ३८ करोड ९० लाख बजेट विनियोजन भएको छ। यस्तै डिलाशैनी गाउँपालिकाका लागि ३६ करोड ४४ लाख, पञ्चेश्वर गाउँपालिकाका लागि ३० करोड ८४ लाख, सिगास गाउँपालिकाका लागि ३२ करोड ३७ लाख, सुर्नया गाउँपालिकाका लागि ३२ करोड ४० लाख र शिवनाथ गाउँपालिकाका लागि २५ करोड ९९ लाख विनियोजन भएको छ।बैतडीमा ६ गाउँपालिका र ४ नगरपालिका गरी १० स्थानीय तह रहेका छन्।