काठमाडौं। प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया आजदेखि शुरु हुँदैछ। प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ। यस्तै उम्मेदवारको नामावली प्रकाशन पनि आजै हुने छ।
कार्यतालिका अनुसार भोलि शुक्रबार अपराह्न ३ बजेको बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ। उपसभामुख पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो। २०७६ माघ ६ गते तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो।
तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिएका छन्। प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ।
यसैबीच सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेसले उपसभामुख पाउने सहमति भएपछि आज भुसालले उम्मेदवार मनोनयन गर्ने तयारी गरेका छन्।
यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा उहाँ तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेका छन्। तुम्वाहाङ्फे २०१ मत पाउँदा भुसालले भने ५८ मत मात्र प्राप्त गरेका थिए । तर यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ ।
प्रतिनिधिसभामा एमालेको ९८, काँग्रेस ६१ ९दुई निलम्बित०, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।