काठमाडौं। सर्लाहीको गोडैता नगरपालिका–२ बेल्वाजब्दीमा २.३ किलोमिटर सडक स्तरोन्नती गरीएको छ। सो सडक ३९ लाखको लागतमा स्तरोन्नती गरिएको हो।
मेयर देवेन्द्रकुमार यादवको पहलमा प्रदेश सरकारको शशर्त अनुदानबाट हुलाकी सडकअन्तर्गतको बिर्ता चौकदेखि नहरबाटो हुँदै बेल्वाब्दी टोलसम्मको सडक स्तरोन्नति गरिएको हो।
सडक निर्माणले आम नागरिकलाई आवतजावतमा सहज भएको स्थानीयले बताए। वर्षात्को समयमा सडक हिल्लामे र हिउँदा धुल्लाम्य हुँदा कृषि सामग्री ढुवानी, गाईवस्तु चराउन र खेतमा काम गर्न जाने सर्वसाधारणले सास्ती खेप्दै आएका थिए। सडक निर्माण भएपछि सहज भएको उनिहरुको भनाइ छ।
सडक सञ्जालको हिसाबले विकट मानिएको बेल्वाजब्दीमा सडक निर्माण भई हुलाकी सडकमा जोडिएपछि स्थानीय कृषि उत्पादनले बजार पाउनुका साथै आपतकालीन एम्बुलेन्स र दमकलसमेत ल्याउन सहज भएको छ। बाटो नहुँदा किसानलाई उद्योगसम्म उखु ढुवानी गर्न समस्या हुँदै आएको उखु किसाले बताए। सडक निर्माणले उखु खेत र उद्योगबीचको दूरीमा कमी आएको छ, यसले किसानहरूको ढुवानी लागत खर्चमा कमी आई आम्दानीमा वृद्धि हुने विश्वास गरिएको किसानको भनाइ छ।