काठमाडौं। काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा सवारीसाधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ। उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मशिन’ राख्न गृहकार्य शुरूआत गरेको हो।
उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशंका लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरूले नै गरिरहेका छन्।
उक्त कामका लागि पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको चन्द्रागिरि नगरपालिकाले जनाएको छ।
काठमाडौं उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुंगामा ‘भेइकल स्क्यानिङ मशिन’ राख्न जरुरी रहेको नगरपालिकाले जनाएको छ।मशिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ। यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ। मशिनको करीब २ करोड ५० लाख पर्ने जनाइएको छ।
मशिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वान समेत गरेको छ। यो मशिनबाट चन्द्रागिरी नगरपालिकालाई मात्र नभएर समग्र उपत्यकाको सबै पालिका एवं संघीय सरकारलाई समेत फाइदा पुर्याउँने नगरपालिकाले बताएको छ।