काठमाडौं। रुपन्देहीको सालझण्डीदेखि सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने सडक निर्माण सुरु भएको १३ वर्षमा जम्मा १९ किलोमिटर निर्माण सम्पन्न भएको छ। २०६६ सालदेखि सुरु भएको सडक निमार्णको काम बजेट अभाव देखाउँदै प्रत्येक वर्ष सुस्त बनेको हो।
खासगरी लुम्बिनीका पर्यटकलाई बाग्लुङको ढोरपाटन आरक्षणसम्म जोड्नको उद्देश्यले सडक निर्माण सुरु गरे पनि काम भने निकै सुस्त गतिमा भएको छ। जम्मा १९७ किलोमिटर सडकमध्ये विगत १३ वर्षको अवधिमा जम्मा १९ किलोमिटर मात्रै पिच गरिएको छ। ग्राभेलको काम ७२ किलोमिटर भएको छ। कच्ची सडकको काम भने सकिएको छ।
अर्घाखाँचीको सन्धीखर्कमा विवाद भएका कारण ५ सय मिटर कच्ची सडक रोकिए पनि अन्यत्र काम भएको छ। सालझन्डी–ढोरपाटन सडक कार्यालय प्रमुख वीरेन्द्र गौतमले बजेट कम हुँदा सडक निर्माणको काममा ढिलाइ भएको बताए। उनले चालु आर्थिक वर्षका लागि आएको बजेट अनुसारको काम पूरा भएको बताए।
८ अर्बको डीपीआर भएको सडकमा प्रत्येक वर्ष ३५र४० करोडमात्रै बजेट विनियोजन भएको छ। १३ वर्षको अवधिमा जम्मा २ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ। आर्थिक वर्ष २०७८र०७९ मा ३५ करोड र थप ८ करोड बजेटको काम सकिएको छ भने यो वर्ष ४० करोड बजेट विनियोजन भएको छ।
सडकको भौतिक प्रगति ३८ प्रतिशत रहेको दाबी गरिएको छ। ८ वटा पुल निर्माण गर्नुपर्नेमा ६ वटा निर्माण भइसकेको र अब दुईवटा निर्माण गर्नुपर्ने कार्यालय प्रमुख गौतमको भनाइ छ।
उनले सडकको ट्रयाक खोल्ने काम पूरा भएकाले यातायात आवतजावत गर्न मिल्ने तर पूर्ण रूपमा पिच हुन भने बजेटका कारण समय लागेको बताए। रातोपाटीबाट