काठमाडौं। गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार बिकास कार्यालयमार्फत गोर्खा जिल्लामा झण्डै २७ किलोमिटर सडक कालोपत्रे गरिएको छ। कार्यालयले अहिलेसम्म कुल २६.५ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न गरेको हो।
ढुङ्गागाढे भञ्ज्याङ, बुंकोट, नाम्जुङ घैरुङ मनकामना सडक खण्डमा १२ किलोमिटर कालोपत्रे भएको छ। २०७७ सालबाट सुरु भएको उक्त सडक २०७८ माघ ८ गते सम्पन्न भएको कार्यालयले जनाएको छ। ३७ करोड ६८ लाख २१ हजार रुपियाँ लागत अनुमान गरिएको सो सडक सम्पन्न गर्दासम्म लागत केही बढेर ३८ करोड ५५ लाख ८९ हजार पुगेको बताइएको छ।
यसैगरी गोरखा हस्पिटल बराह फिनाम सडक पनि कालोपत्रे भएको छ। ९ करोड ८६ लाख ७१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको ३।५ किलोमिटर लामो सो सडक ८ करोड ७६ लाख ५० हजार लागत निर्माण भएको हो। निर्माणमा ढिलाई भएका कारण लामो समय चर्चामा रहेको सडक भर्खरै कालोपत्रे सम्पन्न भएको छ।
गण्डकी प्रदेशले सञ्चालन गरेको एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत ४ वटा सडक स्तरोन्नतिका लागि जिल्लामा बजेट प्राप्त भएको थियो। सोमध्ये ढुङ्गागाढे भञ्ज्याङ, बुंकोट, नाम्जुङ घैरुङ मनकामना सडक कालोपत्रे भएको । बारपाक लाप्राक सडक ग्राभेल र अजिरकोट गाउँपालिकाको ढोडेनी देखि भच्चेक ग्राभेल एवं विभिन्न ठाउँ ढलान समेत गरिएको छ। यी दुई सडकको काम अन्तिम चरणमा पुगेको बताइएको छ।