ओखलढुङ्गा। सिन्धुलीको फिक्कल र ओखलढुंगाको चम्पादेवी गाउँपालिका जोड्ने नवलपुरघाटस्थित सुनकोसी नदीमाथिको पक्की पुल निर्माण सम्पन्न भएको छ। अघिल्लो वर्ष यसै समयमा ढलान हुँदै गरेको पुल बाढीले भत्काइदिएपछि यसवर्ष पुनः निर्माण भएर पुल सम्पन्न भएको हो।
२ सय १० मिटर लामो यो पुल २०७४ सालमा ठेक्का लागेको थियो। करिब २३ करोडको लागतमा सडक डिभिजन कार्यालय मार्फत् चुँदी कन्ट्रक्सनले पुल निर्माणको गरेको हो।
बहुप्रतीक्षित उकत पुल सम्पन्न भए पनि उद्घाटन हुन भने बाँकी छ। पुलका कारण ओखलढुंगाको चम्पादेवी र लिखु गाउँपालिकाका बासिन्दालाई राष्ट्रिय राजमार्गसँग जोडिएर आवतजावत गर्न सहज हुने भएको छ।