झापा। झापा जिल्लाको झापा गाउँपालिकामा आगोलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ। झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आगलागी हुँदा ६ घर जलेर नष्ट भएका हुन्।
स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरमा समेत आगो सल्केको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो स्थानीयवासी, नेपाल प्रहरी सशस्त्र प्रहरीले निभाएका थिए ।