काठमाडौं। काभ्रेपलाञ्चोक जिल्लाको ५५ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा ४० स्थानमा गरेको खानेपानी परीक्षणबाट ५५ प्रतिशत खानेपानी दूषित भएको प्रमाणित भएको जनाएको हो।
कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाललगायत सबै स्थानीय तहको खानेपानी परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको छ। परीक्षण गरिएका खानेपानीमध्ये ५५ प्रतिशत खानेपानीमा दिसाजन्य कीटाणु फेइकल कोलिफर्म–इकोलीं भेटिएको कार्यालय प्रमुख डा. पुरुषोत्तम सेढाईँले बताए।
उनका अनुसार परीक्षणबाट खानेपानी संस्थानद्वारा वितरण भइरहेको तथा स्थानीय खानेपानी आयोजनाद्वारा वितरित पानीमा दिसाजन्य कीटाणु भेटिएको हो।
अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीका स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको जनाइएको छ। कतिपय स्थानमा वितरित जारको खानेपानीमा खराबी देखिएको सेढाईँले बताए। उनले भन्ने, “जारमा खानेपानी बिक्री गर्ने कम्पनीका तीन स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा राम्रो देखियो, यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौँ।”
खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ। “हामी अझै शङ्कास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौँ, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेर मात्रै पानी पिउनुपर्छ”, सेढाईँले भने।
दुई सातादेखि नै जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम भइरहेको जनाइएको छ। कार्यालयले जोखिममा द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखेको प्रमुख सेढाईँले बताए।
कार्यालयले पातलो चौलानीको पानीजस्तो पखाला लाग्ने, खान–पिउन नसकी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भएमा, बालबालिका ज्यादै तिर्खाएमा, उच्च मात्रामा ज्वरो आएमा, धेरैपटक पातलो दिसा गरेमा तुरुन्तै स्वास्थ्य संस्थामा उपचारार्थ जान तथा लैजान अपिल गरेको छ।
दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो। साथै खाना बनाउनुअघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन पनि आग्रह गरिएको छ। यस्तै खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान अनुरोध गरिएको छ।
यसैबीच काभ्रेपलाञ्चोकमा तीन वर्षपछि देखिएको लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण पाँच स्थानमा देखिएको छ। यसअघि जिल्लाका तीन स्थानमा डेङ्गु सङ्क्रमण देखिएको थियो। तीन हप्ताअघि पाँचखालमा देखिएको डेङ्गु रोगको सङ्क्रमण हाल धुलिखेल र पनौतीलगायतका पाँच क्षेत्रमा देखिएको स्वास्थ्य प्रमुख सेढाईँले बताए।
उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट डेङ्गु रोगको सङ्क्रमण जिल्लामा केही वर्ष रहनसक्ने देखिएकाले विशेष सतर्कता अपनाउनु पर्नेछ।
यो पनिः
खानेपानी आयोजना निर्माणमा ढिलाइ