जाजरकाेट। अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गरी ओसारपसार गर्ने तीन ट्याक्टरलाई जाजरकोट प्रहरीले नियन्त्रणमा लिएको छ । भेरी नगरपालिका वडा नं.–४ स्थित बसपार्क सडक खण्डमा भे १ त ७३५०, भे १ त १६३७ र भे २ त १६७४ नम्बरका ट्याक्टरलाई गिट्टीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको स्वीकृत टेन्डरबाट स्टक प्रमाणित नगराई तथा गैर कानुनी रुपले नगरपालिका भित्र आगामी आर्थिक वर्षको टेन्डर स्वीकृत नभएसम्म ओसारपसार एवम् बिक्री वितरण गर्ने कार्य पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले उल्लेखित कार्य गरे गराएमा दण्ड जरिवाना गर्ने भनि निर्णय भए बमोजिम ती ट्याक्टरलाई नियन्त्रणमा लिएको बताए।
प्रहरी निरीक्षक पन्तका अनुसार तीनवटै ट्याक्टरलाई आवश्यक कारबाहीको लागि गिट्टीसहित भेरी नगरपालिकाको कार्यालयमा पठाइएको छ ।