काठमाडौं। अछाममा पहिरोमा परेर एकै घरका तीन जनाको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद–२ भुलुमा आइतबार राति पहिरोमा पुरिँदा एकै घरका ३ जनाको मृत्यु भएको हो ।
पहिरोमा परेका एक जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
आइतबार राति १ बजे अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु ४५ वर्षीया हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनकी ६५ वर्षीया आमा नैना विष्टको भने जिवितै उद्धार गरिएको र प्राथमिक उपचारपछि उनी सामान्य अवस्थामा रहेको डिएसपी नारायण डाँगीले जानकारी दिए ।
पहिरोमा पुरिएर ५–६ वटा चौपाया पनि मरेका छन् ।