काठमाडौं। बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाताल भूमेश्वरसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको २५ लाख रुपियाँ आर्थिक सहयोगमा पाँच सय मिटर ढलान गरिएको पक्की बाटो निर्माण गरिएको हो।
पदमार्ग बनेपछि धार्मिक पर्यटकलाई पाताल भूमेश्वरको गुफा र तलाउको दर्शन गर्न सजिलो भएको बताइएको छ। पदमार्ग निर्माणपछि दशरथचन्द मार्गको सिउँडेबाट १५ मिनेटमै पाताल भूमेश्वरको गुफा र तलाउ नजिक पुग्न सकिने बताइएको छ।
यसअघि स्थानीय युवाको अगुवाइमा चन्दा सङ्कलन गरेर यहाँ प्रवेशद्वार निर्माण गरिएको सिद्धनाथ पाताल भूमेश्वर धार्मिक वन समितिले जनाएको छ।
बैतडीको वासुलिङ्ग र भूमेश्वरको सीमामा पर्ने जङ्गलको एक हजार दुई सय मिटर अग्लो डाँडोमा रहेको पाताल भूमेश्वर गुफासँगै कहिल्यै नसुक्ने स्थिर तलाउ सो ठाउँको मुख्य आर्कषण हो। शिव पार्वतीको ‘मधुमास’ स्थल तथा द्वापरयुगमा पाण्डवहरू त्यस ठाउँबाट स्वर्ग गएको धार्मिक किंवदन्ती रहेको छ।
शिवरात्रिलगायत साउने सङ्क्रान्ति पर्वमा सो ठाउँमा विशेष पूजा लाग्ने गर्छ। पाताल भूमेश्वर गुफाको उत्तरतिर रहेको तलाउ र बीच भाग रहेको शिव मन्दिरमा विवाह गरेर सयौँ जोडी विधिवत् लगनगाँठोमा बाँधिने गरेका छन्। धार्मिक दृष्टिले पवित्र मानिएको पाताल भूमेश्वर गुफालाई स्थानीयवासीले परापूर्वकालदेखि पुज्दै आइरहेका छन्।