काठमाडौं। रौतहटको मौलापुर नगरपालिकामा नवनिर्मित अत्याधुनिक बसपार्क उद्घाटन गरिएको छ। मंगलबार एक समारोहकाबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले मौलापुर बसपार्कको उद्घाटन गरेका हुन्।
नेता साह शहरी विकास मन्त्री हुँदा गृहनगर मौलापुरलाई नयाँ शहर बनाउने योजनाका साथ शिलान्यास गरेका बसपार्कको मंगलबार विधिवत् रूपमा उद्घाटन गरेका छन्।
जिल्लामै सबभन्दा ठूलो बसपार्कको रुपमा निर्माण भएको मौलापुर बसपार्क मधेश प्रदेशकै एक नमुनाको रुपमा रहेको कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री प्रभु साहले बताए।
साढे ४ विघा क्षेत्रफल जग्गामा रहेको सो बसपार्क निर्माण उनले मन्त्री हुँदा शहरी विकास मन्त्रालयबाट १३ करोड रुपैयाँ बिनियोजन गरेका थिए। उक्त बसपार्क रमन/आश्रय जेभी निर्माण कम्पनीले निर्माण गरेका छन्।
मौलापुर बसपार्क अत्याधुनिक डिजाइनमा बनाइएको छ। बसपार्क भित्र प्रशासनिक भवन, टिकट काउन्टर, यात्रु प्रतीक्षालय, सुविधा सम्पन्न शौचालय तथा फराकिलो बस पार्किङ एरिया बनाइएको छ।
बसपार्क सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा आवागमन हुने यात्रुवाहक सवारी साधनको व्यवस्थापन हुनुका साथै यात्रीलाई सहजता हुने विश्वास रहेको छ।