काठमाडौं। भारत सरकारले धारचुला हुँदै निर्माण गरिरहेको कैलाश मानसरोवर सडकखण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्।
मङ्गलबार अपरान्ह ४ बजे कैलाश मानसरोवर सडकखण्डको धारचुलास्थित लामारी–पेलसिती झरना नजिकैको पहाड भासिएर पहिरो खस्दा सडकमा काम गरिरहेका डडेल्धुराका ४५ वर्षीय नरबहादुर रोकाको मृत्यु भएको हो। घटनामा परी ३८ वर्षीय पदमसिंह कुँवर गम्भीर घाइते भएका छन्। कुँवरको धारचुला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
भारतको पिथौरागढ जिल्लाबाट करिब १५० किलो मिटर दूरीमा धारचुला हुँदै भारतले कैलाश मानसरोबर सडक निर्माण गरिरहेको छ। गर्ग एण्ड गर्ग कम्पनीले सडक चौडा गरेर कालोपत्रे गर्ने काम गरिरहेको छ। कम्पनीले नेपाली मजदुरलाई काममा लगाएर सडक कालोपत्रे गर्दै आइरहेको भारतीय सञ्चारकर्मी हरुले बताएको छन्।
पहिरोमा परी मृत्यु भएका नरबहादुर रोकाको शव पोष्टमार्टमका लागि धारचुला सामुदायिक स्वास्थ्य केन्द्रमा राखिएको छ। घटनाबारे थप बुझ्ने काम भइरहेको बताइएको छ।