एजेन्सी। एउटा परिवारमा वा भनाै एउटा घरमा एक महिनामा बिजुलीकाे बिल बढिमा कति सम्म उठ्ला? कुनै घरमा एक महिनामा ३४ अर्ब १९ कराेडकाे बिजुली खपत हुन सक्ला कि नसक्ला? सुन्दा मात्र अनाैठाे लाग्ने याे कुरा तपाइँकै घरमा यतिकाे बिल आए चै के गर्नु हुन्छ? अनाैठाे नमान्नुस याे भएकै घटना हाे। भारतको मध्य प्रदेशको ग्वालियरको एक घरमा ३४ अर्ब १९ कराेड बढीकाे बिल आएपछि घरधनी बिरामी नै परेका छन्।
ग्वालियरको शिव बिहार कोलोनीकी प्रियंका गुप्ताको घरमा जुलाइ महिनाको बिजुलीको बिल घरमा आयो। बिल हेर्दा सबै आश्चर्यमा परे। आश्चर्यमा मात्र परेनन् प्रियंकाका ससुरा अस्पताल नै भर्ना हुने गरी बिरामी परे। उनी अहिले पनि अस्पतालमा नै छन्। बिजुलीको बिल ३४ अर्ब १९ करोड ५३ लाख २५ हजार २९३ भारु थियो। नेपाली ५४ अर्ब ७१ करोड २५ लाख २० हजार ४६८ रुपैयाँको बिल आउँदा तपाइँ के गर्नु हुन्थ्यो? पक्कै प्रियंकाका ससुरा झैँ बिरामी पर्नुहुन्थ्यो होला?
बिल प्राप्त हुनासाथ आश्चर्यमा परेका परिवारका सबै सदस्यले बिलमा कुनै गल्ति हो कि भनेर पटक पटक दोहोर्याएर पनि हेरे तर गल्ति भेटेनन्। बिल देखेरै बुबा बिरामी परेपछि प्रियंकाका श्रीमान सञ्जिवले आफ्ना बुबा बिरामी हुनुको कारण नै बिजुलीको बिल भएको दाबी गरेका छन्।
यो खबरले यति बेला मध्यप्रदेश हल्लाएको छ। विद्युत विभागले हतारमा गल्ती भएको भनेर माफि समेत मागिसकेको छ। विद्युत यातायात प्राधिकरणका महाप्रबन्धक नितिन माङ्गलिकले कर्मचारीको गल्तिका कारण यस्तो घटना भएको बताए । प्राधिकरणले गल्ती सच्याएर तुरुन्तै नयाँ १ हजार ३ सयको बिल बनाएको छ। नयाँ बिजुलीको बिल पाएपछि प्रियंकाको परिवार केही सन्तुष्ट बनेका छन् ।
मध्य प्रदेशका उर्जामन्त्री प्रधुमान सिंह तोमरले समेत यो घटना अपराध जनक भएको भन्दै गल्ती गर्ने कर्मचारी पहिचान गरी कारबाही गर्नुपर्ने बताएका छन्।