ओखलढुंगा। ओखलढुंगा र सिन्धुलीलाई जोड्ने नवलपुरको पक्की पुल निर्माण सम्पन्न भएको छ। पुलको सबै काम सम्पन्न भइसकेको र २० साउनभित्र उद्घाटन गर्ने तयारी रहेको छ।
पुल निर्माण भएसँगी स्थानीय खुसी भएका छन्। करिब २३ करोड लागतमा बनेको पुल २ सय मिटर लामो छ । पुलमा पाँचवटा स्पानहरू रहेका छन् भने पुलको चौडाइ ११ मिटरको छ ।
दुईवटा ठूला सवारीसाधन सहजरूपमा पार गर्न सक्नेछन् । निरीक्षणपछि सञ्चारकर्मीसँग बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुख केदार नेपालले यो पुल २०७३ को असार अन्तिममा सुरु भएको र २०७६ सम्म नै सकिसक्नुपर्ने भए पनि कोरोना महामारीको कारण काम केही ढिला गरी सकिएको बताए । उनले पुल सम्पन्न भइसकेको र यातायात सञ्चालनको अन्तिम चरणमा रहेको बताए । नेपालले पुल निर्माण गर्न कुल २४ करोड रुपैयाँ लागेको बताए ।
त्यस्तै, पूर्वसांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगा, सोलुखुम्बु, खोटाङलगायतका जिल्लामा पहाड–तराई जोड्ने पक्की पुल आफू सांसद हुँदा नभएकोले पूर्वाधार विकासमा पहिलो जोड दिएको बताए । उनले यो पुल निर्माणपछि काठमाडौंसँग जोडिन ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङका नागरिकलाई सहज र छिटो हुने बताए । उनले पक्की पुल निर्माणसँगै नजिकका जिल्लाका पर्यटकीय स्थलको सम्भावना बढ्ने बताए ।
पुल निर्माण नहुँदा डुङ्गाबाट नै आवतजावत हुने गरेको, जसले विभिन्न दुर्घटनाहरू निम्तिने गरेकोले अब यी समस्याबाट छुटकारा मिल्ने स्थानीयहरूको भनाइ छ । पुलले ओखलढुंगाका जनताको कृषिसहित अन्य विभिन्न आवश्यकतालाई सहज बनाइदिएको छ । सिन्धुली जिल्लाबाट ओखलढुङ्गाको लिखु गाउँपालिका जोड्ने यो पुल सञ्चालनमा आएलगत्तै सोलुखुम्बु र रामेछापको पूर्वी भेगलाई आवत–जावतमा सहज हुनेछ ।