काठमाडौं। झापाको दमकमा निर्माण गर्ने भनिएको दमक ‘क्लिन’ औद्योगिक पार्क निर्माणमा ढिलाइ भएको आवाज उठ्न थालेको छ। पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गा धनीका साथै स्थानीयले पार्क निर्माणमा ढिलाइ भएको भन्दै यथाशक्य छिटो पार्क निर्माण थाल्न दबाब दिँदै आएका छन्।
एक लाखभन्दा बढी सर्वसाधारणले रोजगार पाउने उद्देश्यका साथ पार्क स्थापना गर्नका लागि जग्गा अधिग्रहण कार्य सुरु भएको आठ वर्ष हुँदासमेत पार्क निर्माण अभियानले गति नलिएपछि जग्गादाता तथा स्थानीयले समेत विरोध गर्न थालेका छन्। अहिलेसम्म पार्क निर्माणका लागि आवश्यकपर्ने करिब दुई हजार एक सय बिघा जग्गामध्ये करिब साठी प्रतिशत जग्गा मात्र व्यवस्थापन भएको छ।
पार्क निर्माणका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत २०७७ साल फागुन १६ मा शिलान्यास गरेका थिए। त्यसपछि शिलान्यास बाहेक पार्क निर्माणमा शून्य प्रगति रहेको सर्वसाधारण, जग्गा दाता र समाजसेवीहरूको भनाइ छ। पार्क निर्माणका लागि जग्गा अधिग्रहण गर्ने क्रममा प्रारम्भदेखि नै मुआब्जा कम भएको भनेर विरोध गर्दै आएका सर्वसाधारण र जग्गाधनीले सङ्घर्ष समिति निर्माण गरेर पार्क निर्माणमा भएको ढिलाइको विरोध गरेका थिए।
नेपाल चीन मैत्री औद्योगिक पार्कका रूपमा निर्माण गर्ने भनिएको परियोजना निर्माणमा आशङ्का बढेपछि विरोधमा उत्रिएको दमक औद्योगिक क्षेत्र सङ्घर्ष समितिका सचिव करणसिंह बस्नेतले बताए। उनले उद्योग स्थापना हुने कुनै ठोस आधार अहिलेसम्म नदेखिएको गुनासो गरे। औद्योगिक पार्कका लागि आफूहरूले उपलब्ध गराएको जग्गाको मुआब्जा कम भएको भनेर प्रारम्भदेखि नै विरोध गर्दै आएका जग्गाधनीले चिनियाँ पक्ष र सरोकारवाला समूहले पार्क निर्माणको कामलाई अगाडि नबढाएको स्थानीय समाजसेवी दीपु चापागाईंको भनाइ छ।
“वर्षौं बितिसक्दा पनि केबल शिलान्यास गर्नु बाहेक न त जग्गा अधिग्रहणको काम सकिएको छ, न त पूर्वाधार निर्माणको कामले नै कुनै गति लिएको छ,” पार्कका लागि जग्गा उपलब्ध गराउनु भएका स्थानीय शङ्कर कटुवालले भने। अर्का समाजसेवी राजनैतिक अभियन्ता महेश घिमिरेले भने, “चीनको लगानी आउने, उद्योग कलकारखाना धमाधम खुल्ने अनि एक लाखभन्दा बढी जनाले रोजगार पाउने र यो क्षेत्रका आर्थिक समृद्धि र व्यावसायिक बिस्तारमा योगदान पुग्छ त भनियो। तर अहिलेसम्म उद्योग आउने कुनै आधार देखिएको छैन। उद्योगका लागि चाहिने पूर्वाधार पनि बनेन।” उनले चिनियाँ लगानी आउने भनेर भ्रममा पारेर जग्गा मात्र कब्जा गर्न खोजिएको हो कि भन्ने आशङ्का सर्वसाधारणमा बढेको बताए।
पार्क निर्माण गर्ने अभियान अन्तर्गत चिनियाँ व्यावसायिक टोली एक दशकको अवधिमा एक दर्जनभन्दा बढी पटक आए पनि अहिलेसम्म कुनै काम प्रारम्भ नभएको सर्वसाधारणको भनाइ छ।
नेपाल सरकारले गत २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयमार्फत औद्योगिक पार्क निर्माणका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाएको थियो। यसअन्तर्गत दमक, गौरादह र कमलको दुई हजार एक सय बिघामा बन्ने भनिएको पार्कका लागि नदी उकास क्षेत्रअन्तर्गतको सरकारी जमिनका साथै सर्वसाधारणको स्वामित्वमा रहेको अन्य जग्गा अधिग्रहण गरी मुआब्जा वितरणको कार्य प्रारम्भ गरेको थियो। यस क्रममा एक हजार २७५ बिघा जमिन आद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दर्ता भएको छ भने बाँकी जग्गा अधिग्रहण गरेर संस्थाको नाममा ल्याउने काम भइरहेको छ। औद्योगिक पार्कका लागि आवश्यक पर्ने जग्गामध्ये एक हजार ७९० बिघा जग्गा लिमिटेडको नाममा आएको बताइएको छ।
करिब तीन खर्ब रुपियाँको लगानीमा स्थापना गर्ने भनिएको पार्क निर्माणका लागि लगानी बोर्डले पहिलो चरणमा गत २०७६ साउन १७ गते ६४ अर्ब ४१ करोड लगानी गर्न स्वीकृति प्रदान गरे पनि अहिलेसम्म पार्क निर्माण अभियानले गति लिन नसकेको भन्दै सर्वसाधारणले रोषसमेत व्यक्त गर्न थालेका छन्।
यस सम्बन्धमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निर्देशक सञ्जयलाल मानन्धरले पार्क निर्माणको क्रममा काम हुँदैन भन्ने कुनै अन्यौल नरहेको बताए। दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा चीनले औद्योगिक क्षेत्र बनाइदिने सम्झौताअनुसार केही ढिलाइ भए पनि सबै प्रक्रिया पूरा गरेर चिनियाँ लगानीमै औद्योगिक पार्क बन्ने विश्वास व्यक्त गरे। गाेरखापत्रबाट