काठमाडौं। सिन्धुपाल्चोकमा कृत्रिम झरना निर्माण गरिएको छ। एक करोड २९ लाख लागतमा सो झरना निर्माण गरिएको हो।
सिन्धुपाल्चोकका स्थानीय सरकारले करोड खर्चेर झरना निर्माण गरेको हो। स्थानीय सरकारको जीवनस्तर उकास्ने कार्यलाई छाडेर भ्यू–टावर, कृत्रिम झरना, सवारीसाधान जस्ता अनुत्पादक क्षेत्रमा करोडौं बजेट खर्चने गरेको भन्दै गुनासो बढ्दै गएको छ।
पाँचपोखरी थाङपाल गाउँपालिकाले कृत्रिम झरना निमार्णका लागि एक करोड २९ लाख रकम खर्चेको छ। दश लाखभन्दा बढी बजेटमा डिपिआर गरिएको थियो। उक्त गाउँपालिकामा पाँच दर्जनभन्दा बढी प्राकृतिक मनोमहक झरना छन्। प्राकृतिक झरनालाई व्यवस्थित बनाउन छाडेर कृत्रिम झरना निर्माण गर्नु उचित नभएको स्थानीयहरुले आपत्ति जनाउँदै आएका छन्।
उक्त कृत्रिम झरना गाउँपालिका वडा नम्बर– ३ स्थित छिम्ती भीरको पाँच सय मिटर उचाइबाट खसालिएको छ। त्यसबाट खसालिएको पानी कहीँ कत्तै प्रयोगमा ल्याइएको छैन। प्राकृतिक झरना छाडेर कृत्रिम झरनामा कोही कसैले सेल्फी खिच्ने गरेका छैनन्। उक्त वडाका अध्यक्ष ङिमाछिरिङ तामाङले कृत्रिम झरनाले स्थानीय सरकार र जनता समृद्ध हुने दावी गरे।
सिँचाइ, खानेपानी, जलविद्युत आयोजना लगायत बहुउद्देश्यीय कृत्रिम झरना निर्माण गरिएको बताइएको छ।