काठमाडौं। अविरल वर्षाका कारण कटारीको जनजीवन प्रभावित भएको छ। वर्षापछि आएको बाढीले कटारी नगरपालिका–७ रिस्कूस्थित बैजनाथ खोलामा आएको बाढीले एउटा ट्रक बगाएको छ। सोमबारेबाट रिस्कूतर्फ हिँडेको बागमती प्रदेश ००३००१ ख २०६१ नम्बरको ट्रक बगाएको हो।
बाढी आएपछि खोलाकिनारमा रहेको खाली ट्रक बगाएको स्थानीयले बताएका छन्। रिस्कूतर्फ काठ लिन हिँडेको खाली ट्रक खोलाले बगाएको हो।
त्यसैगरी वर्षाकै कारण कटारी , ४ को बजार क्षेत्र डुबानमा परेको छ। बजारसँगै सिद्धिचरण लोकमार्गको सडक नै डुबानमा पर्दा आउजाउमा समेत समस्या भएको छ। स्थानीयले घर नै भत्काएर लैजान लागेको बताउँदै नगरमा गुनासो गरेका थिए।
दिगो ढलनाला व्यवस्थापन नहुँदा वर्षादमा कटारी बजारका पसल तथा घरहरू डुबानमा पर्ने गरेका छन्। डुबानका कारण जनजीवन प्रभावित भएपछि स्थानीय आक्रोशित भएका छन् । कटारीका जनप्रतिनिधिहरूले समस्या समाधानमा चासो नदिएको बताउँदै उनीहरू नगरपालिका पुगेका थिए।