ताप्लेजुङ। ताप्लेजुङमा दूरसञ्चार सेवा एक सातापछि सञ्चालनमा आएको छ । बेमौसमी वर्षाका कारण सोमबारदेखि अवरुद्ध बनेको दूरसञ्चार सेवाअन्तर्गत ल्यान्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा आजदेखि सञ्चालनमा आएको हो।
सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूरसञ्चार सेवा अवरुद्ध बनेको थियो। गत आइतबारदेखि बुधबार साँझसम्म अविरल वर्षाका कारण अप्टिकल फाइबरमा समस्या आएका कारण दूरसञ्चार सेवा अवरुद्ध भएको थियो।
इटहरी, विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबर मर्मत गरिएपछि सेवा सञ्चालनमा आएको नेपाल टेलिकम कार्यालय ताप्लेजुङले जनाएको छ ।
नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका क्षेत्रमा वितरित एक हजार १०० भन्दा बढी ल्यान्डलाइन टेलिफोन, मोबाइल सेवा, इन्टरनेट सेवा प्रायः ठप्प भएको थियो। इन्टरनेट नचल्दा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका सेवा प्रवाहमा अवरोध भएको थियो ।