पोखरा। अखिल नेपाल फुटबल एसोसिएसनले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्ने भएको छ। सो एसोसिएसनले एन्फा एकेडेमी निर्माण गर्ने भएको हो। भेडाबारीको साढे ३०० सय रोपनी जग्गामा फिफाको सहयोगमा एकेडेमी निर्माण गर्न लागिएको कुरा एन्फाका प्रमुख कार्यकारी निर्देशकले जानकारी गराएका छन्। सो जग्गा २० वर्षको लागि भोगचलन सम्झौता गरेर एकेडेमीको डिपीआर पनि तयार गरिसकेको छ।
उक्त टेक्निकल सेन्टर निर्माण गर्नको लागि सम्पुर्ण प्रक्रियाहरु पूरा भैसकेको छ। हाल वातावरणीय प्रभाव मुल्याङन भइरहेको र मन्त्रालयबाट पास हुनेसाथ निर्माण प्रक्रिया सुरु गर्ने योजना रहेको निर्देशकले जानकारी गराएका छन्। सो एकेडेमीमा अभ्यासका लागि ४ खेल मैदानसहितको हास्टेल, जिम हल,स्विमिङ पुल, पुस्तकालय, गेस्ट रुम लगाएतका संरचनाहरु निर्माण गरिनेछ।
शुरुमा १७ करोड रुपैँया खर्च गरेर निर्माण गर्न लागिएको उक्त ट्रेनिङ सेन्टरमा हालसम्म चरणबद्ध रुपमा ८० देखि ९० करोडसम्म लगानी हुने एन्फाले जनाएको छ। सो एकेडेमीमा अन्तराष्ट्रिय प्रतियोगिता सञ्चालन गर्नको लागि फिफाले २० लाख डलर पठाएको छ। उक्त ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, प्रशिक्षक तथा विभिन्न उमेर समुहको अभ्यास, रेफ्री तथा विभिन्न ट्रेनिङहरु सञ्चालन गर्न मिल्ने संरचना तयार गरिने भएको छ।