भैरहवा। भैरहवास्थित निमाणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न निर्माण गरीएको बहुमूल्य बुद्धको मूर्तिलाई नगर परिक्रमा गराइएको छ।
सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवा, लुम्बिनी होटल संघ नेपालको संयोजन र लुम्बिनी सांस्कृतिक नगरपालिका तथा लुम्बिनी गार्डेन फाउन्डेसनको समन्वयमा हाल सो मुर्तिलाई सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका परिक्रमा गराई विमानस्थलमा राखिएको छ।
बहुमूल्य धातु ह्वाइट जेड स्टोनबाट म्यान्मारमा २ अर्ब ५० करोडको लागतमा बनाइएको बुद्धको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले नेपाललाई उपलब्ध गराएको हो। १ हजार ८ सय किलो तौल रहेको सो मुर्तिको १ दशमलब ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइ रहेको छ।
उक्त बुद्धको मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालवीन ग्रुपले तयार पारी स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई हस्तानतरण गरेको थियो। त्यस्तै आउदो कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्ध विमानस्थलमा मूर्तिको अनावरण गर्ने कार्यक्रम तय गरिएको छ भने कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विशेष प्रतिनिधिमण्डल नेपाल आउने भएको छ।