काठमाडौं। कृषिउपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ। तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा शीतभण्डार निर्माण गरिएको हो।
दश टन क्षमताको उक्त शीतभण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्डस्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लामा पहिलोपटक शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका किसानलाई कृषि उपज भण्डारण गर्न सहज भएको छ।
शीत भण्डारका सञ्चालक ललितमोहन भट्टका अनुसार बैतडीका किसानले उत्पादन गरेको कृषिउपजलाई भण्डारण गर्न सहज होस् भनेर शीत भण्डार निर्माण गरिएको हो । उनले भने, “खोडपे क्षेत्र तरकारीका लागि पकेट क्षेत्र हो तर यहाँका किसानलाई तरकारी भण्डारण गर्न समस्या थियो, भण्डारण गर्न नपाउँदा सस्तैमा बेच्नुपर्ने बाध्यता थियो, अब सजिलैसँग तरकारी भण्डारी गर्न सकिन्छ र मूल्य पाउँदा बिक्री गर्न सहज हुन्छ । ”
शीत भण्डार सञ्चालनमा आएसँगै राहत हुने किसानले बताएका छन्। बजार अभावमा आलु बिक्री गर्न निकै समस्या हुने गरेको तथा बारीमै कुहिने समस्याको अन्त्य भएको स्थानीय किसानले बताए। “शीत भण्डार नहुँदा आलुको बीउ भण्डारण गर्न डडेल्धुरा जानुपर्ने बाध्यताको अन्त्य भएको उनिहरु बताउछन्। खास गरेर यो क्षेत्र आलुका लागि प्रसिद्ध मानिन्छ, यसअघि किसानले बजार मूल्य नपाएर सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता थियो, अब शीत भण्डार सञ्चालनमा आएकाले सहज हुने विश्वास गरिएको छ।