काठमाडौं। अर्थमन्त्रीमा पुनःनियुक्त भएपछि जनार्दन शर्माले पहिलोपटक आइतवार प्रस्ताव पेश गर्ने भएका छन्। आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री शर्माले चार वटा प्रस्तावहरू पेश गर्ने कार्यसूची छ।
शर्माले अर्थमन्त्रीमा पुनःनियुक्त भएपछि पहिलोपटक अर्थ मन्त्रालयका तर्फबाट प्रस्तावहरू पेश गर्न लागेका हुन्। कार्यसूचीअनुसार ‘अर्थ समितिको प्रतिवेदनसहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’, ‘बीमा विधेयक २०७९ लाई पारित गरियोस्’, अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरियोस्’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्नुहुनेछ।
चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्नताको आरोप लागेपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए। संसद्ले सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति बनाएको थियो। समितिले शर्मामाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि उनी साउन १५ गते पुनः अर्थमन्त्रीमा नियुक्त भएका हुन्।
यस्तै आइतवारको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६’का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
त्यस्तै आइतवारको संसद् बैठकबाट प्रत्यायन विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरेर पारित गर्ने तयारी पनि छ।