नारेश्वर गोरखा सदरमुकामबाट नजिक रहेको ग्रामीण क्षेत्र हो । सदरमुकामबाट नजिक रहेको हिसाबले हेर्ने हो भने त्यहाँ धेरै पूर्वाधार निर्माण भइसक्नु पर्ने हो तर सडककै अबस्था बिगत लामो समयदेखि बिग्रिएर स्थानीयबासीहरुले समस्या भोग्नु परेको छ तर पनि निर्माणकार्यमा भने कसैको चासो छैन ।
गोरखा सदरमुकामदेखि नारेश्वर जाने सडक खहरे खोला जस्तै देखिन्छ । सडकमा सवारीसाधन गुडाउनै नसकिने भयकोले पैदलयात्रीलाई हिलाम्य हुँदै हिड्नुपर्ने बाध्यता रहेको छ । केहीसमय अघिसम्म रामशरण बस्नेत गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रहेकोेले पनि बिगत तीनबर्षको अवधिमा सो सडक कालोपत्रे भइसक्नु पर्ने हो ।
पूर्वाधार कार्यालय गोरखाले १० किलोमिटर लामो गैरीकुवा–नारेश्वर सडक खण्ड पक्की नालीसहित कालोपत्रे गर्ने सम्झौता गरि रौताहा/पि.के/गोरखा एप्रोप्रिएट जेभीलाई २०७६ फागुन १४ गते दुई वर्षमा निर्माण सक्ने गरि २५ करोड ६३ लाख रुपैयाँमा ठेक्का दिएको थियो । सम्झौता अवधि सकिन ८ महिना बाँकी हुँदापनि सडकमा कामदारनै देखिँदैनन् जसले गर्दा अहिलेसम्म जम्मा ३५ प्रतिशत मात्र काम सकिएको छ । उक्त सडकमा बर्खाको समयमा गाडी चल्न मिल्नेसम्म बनाउनु पर्ने व्यवस्था भयपनि त्यहाँ मान्छे हिड्न समेत मुस्किल रहेको छ । त्यस बाटोमा आपतकालिन समयमा एम्बुलेन्स चलाउन पनि सम्भव छैन ।
सडकको हिलोमा दिनहूँ सवारी दुर्घटना भइरहन्छ । सडकको हिलोले सवारी साधनमा यात्रा गर्नेलाई मात्र नभइ पैदलयात्रीलाई गाडी आएको देखेपछि सडक छाडेर भाग्नुपर्ने अवस्था रहेको छ । सर्वसाधारणलाई हिलाम्य सडकमा जोगिएर हिड्न मुस्किल छ । स्तरोन्नति पूरा गर्ने समय फागुन मसान्तसम्म भएपनि अहिलेसम्म कालोपत्रको काम सुरु नै भएको छैन । तर निर्माण ब्यवशायीले भने कोरोनाका कारण समयमै काम गर्न नसकेको बताएका छन् ।