काठमाडौं। पर्यटकीय नगरी धनकुटाको भेडेटारमा लिफ्ट मार्फत खानेपानी आयोजना सञ्चालनमा ल्याइएको छ। निर्माण सुरु भएको दस वर्षपछि खानेपानी भेडेटार पुगेको हो। २०६९ सालमा सरकारको लगानीमा सुरु भएको आयोजना निर्माण पुरा हुन एक दशकै लागेको छ।
तीन करोड ६७ लाख रुपैयाको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो। उक्त आयोजना स्थानीय सिरीसे सौरे र सौरे खोलावाट लिफ्ट गरी करिब डेढ किलोमिटर दुरीबाट पानी ल्याइएको छ।
लिफ्ट मार्फत ल्याइएको पानी डाँडामा एक।एक लाख लिटरका तीनवटा ट्याङ्की र ५० हजार लिटरका दुइ र १२ हजार लिटरका तीन वटा ट्याङ्की गरी जम्मा चार लाख ३६ हजार लिटर पानी संकलन गरी वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय धनकुटाका प्रमुख राजकुमार मण्डलले जानकारी दिए।
आयोजना मार्फत साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ भेडेटारका १४७ घर धुरीले खानेपानीबाट लाभान्वित भएका छन्। आयोजना सञ्चालन पछि भेडेटारका होटलमा हुनेगरेको खानेपानी समस्या हटेर जाने गाँउपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए। उच्च क्षेत्रमा रहेकाले भेडेटार बजारमा विगत देखिनै खानेपानीको समस्या हुँदै आएको थियो। यो आयोजना सम्पन्न भएसँगै स्थानीयबासी तथा पर्यटकलाई समेत खानेपानी सहज भएको छ। गोरखापत्रबाट