काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरूलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
सोमबार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरू उत्पादन गर्ने मेडिकल क्षेत्र निरुसाहित भएको भन्दै सरकारले त्यस्ता कलेजहरूलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
उनले सरकारले ७५३ वटै स्थानीय तहहरूमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार पुर्याउन जरुरी रहेका बताए। ढकालले नेपालमा स्वास्थ्य प्राविधिकहरूको अत्यधिक आवश्यकता रहेको बताए।
वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्य बीमामा भुक्तानी प्रणालीमा केही कमजोरीहरू रहेको भन्दै त्यस्ता विषयहरू सुधार गर्नुपर्ने देखिएको बताए। उनले स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल रूपमा अगाडि बढाएमात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उद्देश्य पूरा हुन सक्ने दाबी गरे।