काठमार्डौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ दल दर्ता भएका छन् । दल दर्ता गर्ने अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म ८४ दल दर्ता भएको आयोगले जनाएको छ ।
आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन २०७९ साउन १९ सम्म आयोगमा दर्ता कायम रहेका दललाई साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ताका लागि समय दिएको थियो। निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर चुनावमा जाने प्रावधान अनुरुप यसरी निवेदन दिने दलको संख्या चार रहेको छ।
अर्यालले अन्तिम समयसम्म ८४ वटा दल दर्ता भएको देखिएको बताए । प्राप्त निवेदनमा बुधवारबाट हेर्ने, केलाउने काम शुरु हुने उनले जानकारी दिए । दुई वा दुईभन्दा बढी दलहरु मिलेर संयुक्त रुपमा चुनाव लड्ने प्रावधान अनुरुप यस्तो चार समूह रहेको उनले बताए । देशको प्रमुख राजनीतिक दलमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले यसअघि एकल रुपमा दर्ता गरे पनि डा बाबुराम भट्टराईसहितको एउटै चुनाव चिह्नमा मंगलबार पुनः दल दर्ता गरेकाे उनले बताए। यसैगरी नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमसमेत माओवादी केन्द्रकै चुनाव चिह्नमा आगामी संघीय निर्वाचनमा भाग लिने सहमति गरेका छन्।
आयोगले दर्ता भएका दलका प्राप्त कागजात अस्पष्ट वा नपुगेको भए त्यस्ता कागजात माग्ने काम गर्नेछ।
उनले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा सहभागिताका लागि स्वीकृति दिने काम टुंगाएपछि मात्रै निर्वाच्नमा भाग लिने दलको खास संख्या यकिन हुने बताए।