झापा। भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्ने पानी लेदो मिसएर धारामा आउने गरेको छ। विगत तीन महिनादेखि संस्थानले पठाउने पानीमा लेदो मिसिएर आउने गरेको हो।
खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको स्थानीयको भनाइ छ।
कार्यालयको ध्यानाकर्षण गराउँदासमेत उपभोक्ताले शुद्ध पानी उपभोग गर्ने वातावरण नबनेको उनीहरु बताउँछन्।
धारामा दूषित पानी आउन थालेको महिनौँ बितेपछि सामाजिक अभियन्ताको टोलीले संस्थानका कार्यालय प्रमुख रामकुमार श्रेष्ठसँग छलफलसमेत गरेको छ । शुद्ध पानी दिन उनले प्रतिबद्धता व्यक्त गरे पनि हालसम्म कार्यान्वयन नभएको र दुषित पानी नै पिउन बाध्य बनाइएको अभियन्ता टोलीको गुनासो छ।
संस्थानले हालै दश दिनभित्र शुद्ध पानी वितरण गर्ने, धारा जडान र पाइप विस्तार गर्ने, दैनिक १४/१५ घण्टा शुद्ध पानी वितरण गर्ने, ट्रिटमेन्ट प्लान्ट जडान गर्ने, पुरानो पाइप हटाएर नयाँ पाइप लगाउनेलगायत प्रतिबद्धता गरेको छ ।