स्याङ्जा। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरिएको छ। गण्डकी प्रदेश सरकार, गाउँपालिका र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा पालिकाका ३ हजार ४ सय घरमा ‘एक घर, एक धारा’ जडान गरिएको हो।
गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीका अनुसार गाउँपालिकाले खानेपानी समस्या निराकरणका लागि योजना अगाडि बढाएपछि तीन हजार चार सय घरधुरीमा एक घर एक धारा जडान गरिएको हो ।
गाउँपालिकाले हालसम्म विभिन्न ३० साना ठूला खानेपानीका योजनाबाट उक्त घरधुरीमा एक घर एक धारामार्फत पानीको पहुँच विस्तार गरेको हो । उक्त आयोजनामध्ये १२ लिफ्टिङ छन् भने १८ ग्राभिटी योजना रहेको उनले जानकारी दिए ।
तीनतिर कालीगण्डकीले घेरेको भए पनि यो पालिका नदीभन्दा माथिल्लो भूभागमा भएका कारण पानीको समस्या हुँदै आएको थियो । धारा जडान गरिएसँगै पानीको समस्या समाधान भएको स्थानीयले बताए।