काठमाडौं। दोलखाको सैलुङ गाउँपालिका–५ मा नेपालमै प्रख्यात मानिने गोल्मा राजा गोल्मा रानीको मूर्ति स्थापना गरिएको छ। बागमती प्रदेश सरकारबाट प्राप्त ३० लाखमध्ये १५ लाख ४४ हजार रुपियाँमा मूर्ति स्थापना गरिएको हो।
काम भएबराबरको भुक्तानी भएको छ र बाँकी रकम फिर्ता गएकाले परिसरमा घेराबार गर्न नसकिएको बताइएको छ।
परिसरमा स्थानीय गुठियार दुलाल बाहुनले पूजाआजा गर्ने यसको मन्दिर पनि छ। गुठीका नाममा दुई सय रोपनी खेत रहेको छ। गुठियारबाट दैनिक पूजाआजा गर्ने चलन अहिले पनि चलिरहेको छ।
गोल्मा राजा गोल्मा रानीको सन्तान नभएपछि राज्य टुटेकाले यी दुलाल बाहुनलाई गुठियार बनाई पूजाआजा सञ्चालन हुँदै आएको देखिन्छ। मन्दिर परिसरमा दरबार रहेको भग्नावशेष देखिएका छन्। सरकारले उत्खनन गरी भएका तथ्य सार्वजनिक गरेर यसको विकासमा जोड दिनुपर्ने स्थानीयको माग छ।