काठमाडौं। भरतपुर महानगरपालिका ५ विकास चोकमा कार र अटो आपसमा ठोक्किदा आठ जना घाइते भएका छन्।
हिजो (बिहीबार) दिउँसो १ः५० बजे बिकासचोक भित्री सडकमा गीतानगरतर्फ आउँदै गरेको ग ३ च ३९२२ नम्बरको कार र विपरित दिशातर्फ जाँदै गरेको ना २ ह ४६५ नम्बरको अटो आपसमा ठोक्किएको हो।
दुर्घटनामा परी अटोमा सवार ६ र कारमा सवार दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। दुर्घटनामा अटो चालक भरतपुर २१ पार्वतीपुरका ४० वर्षीय मनराज गुरुङ, अटोमा सवार रुपन्देही भैरहवाकी ३० वर्षीय बिमला गुरुङ, नवलपुर देवचुली १४ कि १५ वर्षीया रमिता गुरुङ र सोही स्थानकी ६ वर्षीया सरुजा सिँजाली मध्यम घाइते भएका छन्।
सोही स्थानका चार वर्षीय आयुष शाही र १४ वर्षीय सरोज सिँजाली मगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ। यस्तै कारमा सवार कास्कीको पोखरा ४ कि ४५ वर्षीया सिता गुरुङ मध्यम र पोखरा १० कि ३४ वर्षीय शशी थापा सामान्य घाइते भएका छन्।
घाइते सबैको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ। कार चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।