काठमडौं। पश्चिम नवलपरासीको सुनवल नगरपालिका–९, काशीपुरमा सञ्चालनमा रहेको बुटवल सिमेन्ट मिल्स प्रालि बन्द भएको छ। २०५६ सालमा स्थापना भई क्लिङ्कर र सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योगका सबै उत्पादन गत साउन २१ गतेदेखि पूर्ण रूपमा बन्द भएको हो।
कोभिड–१९ महामारीको समयमा बन्द भएको उद्योग महामारी कम भएपछि सञ्चालन भएको थियो तर अहिले उद्योगलाई चाहिने कच्चा पदार्थको मूल्यमा भएको वृद्धि, विद्युत् अभाव, उत्पादित सामानको न्यून मूल्यलगायत उद्योगका समस्यामा सरकारको बेवास्ताले उद्योग बन्द हुन पुगेको उद्योगले जनाएको छ।
१९० जनासम्मलाई रोजगारी दिँदै आएको यो उद्योगले गत चैत १६ गतेदेखि क्लिङ्कर उत्पादन बन्द गरेको थियो भने साउन २१ गतेदेखि सिमेन्ट उत्पादनसमेत बन्द गरेको हो।
यस जिल्लाको सबैभन्दा पुरानो सिमेन्ट उद्योगका रूपमा रहेको बुटवल सिमेन्ट मिल्सले क्लिङ्कर दैनिक ४६५ टन र सिमेन्ट दैनिक पाँच सय टन उत्पादन गर्दै आएको थियो।