काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्या नमानेको आरोप लगाएका छन्।
बुधबार पार्टी प्रवेश कायक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुगेका ओलीले आफू नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई संविधान संशोधन गरेर नक्शासमेत सार्वजनिक गरेको बताउँदै वर्तमान गठबन्धन सरकारले चुच्चे नक्शालाई समस्या नै नमानेको बताए।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा चुच्चे नक्शाको विषयमा वार्ता गर्नुको साटो चुच्चे नक्शालाई समस्या नै नमानेको आरोप लगाए। अध्यक्ष ओलीले गठबन्धन सरकारले आफ्नो जमिन फिर्ता लिन्छौँ भन्न नसक्नु लाजमर्दो भएकोसमेत बताए।
सो अवसरमा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेशसमेत गराए। पार्टी प्रवेश गर्नेमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरी, समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रमबहादुर साही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोककुमार चन्दलगायत अन्य नेता कार्यकर्तासमेत नेकपा एमालेमा समाहित भएका छन्।